You are here: HomeNewsNews Of Chitwan Pariwarचितवनलाई औद्योगिक जिल्ला बनाइने
Error
  • Error loading feed data

नारायणगढ । उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुले अघिल्लो वर्ष चितवन महोत्सवका क्रममा आयोजित ‘लगानी मध्यनेपाल’ सेमिनारबाट पहिचान भएका योजनाहरुलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

रिपोर्टर्स क्लव नेपाल चितवन शाखाले बिहीबार नारायणगढमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्वता जनाएका हुन् ।

नव निर्वाचित अध्यक्ष कल्याण जोशीले अबको केही दिनमा बस्ने कार्यसमिति बैठकले औद्योगिक विकासका लागि छलफलबाट नया“–नया“ कार्य योजना ल्याउने जानकारी गराए । गतवर्ष चितवन महोत्सवको अवसरमा आयोजित लगानी मध्यनेपाल सेमिनारमा राखिएका योजनामध्ये ७ वटा योजनालाई कार्यान्वयनमा ल्याउने काम भइरहेको उनको भनाइ थियो ।

कृषि र पर्यटन क्षेत्र मुख्य प्राथमिकतामा रहने गरी योजनालाई कार्यान्वयनमा ल्याइने उनले स्पष्ट पारे । ‘हाम्रा योजनाहरु प्राथमिकतामा परेका छन्’, अध्यक्ष जोशीले भने, ‘यसको कार्यान्वयनका लागि केन्द्रीय तहसम्म प्रयत्न भइरहेको छ ।’ उनले जिल्लालाई औद्योगिक जिल्लाका रुपमा परिचित गराउने प्रतिबद्वता जनाएका छन् । नवनिर्वाचित अध्यक्ष जोशीले जिल्लाको पहिचान झल्काउने गरी चितवन प्रवेश गर्ने सीमानामा स्वागतद्वार निर्माण गर्नेसमेत बताए । उनले चितवनमा पछिल्लो समयमा व्यवसायीहरु फराकिलो दायरा बढाउँदै अघि बढ्दै गएको भन्दै जिल्लाको परिचय गराउनकै लागि स्वागतद्वार निर्माणको तयारी गर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले व्यवसायिक एकतालाई प्रगाढ बनाउँदै जिल्लाको आर्थिक विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले स्थानीय निकायसँग समन्वय गरी बजारको ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र नारायणी नदी किनार संरक्षणमा लाग्ने विश्वास दिलाए ।

व्यवसायीलाई परेको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी समाधानमा लागिपर्ने वरिष्ठ उपाध्यक्ष प्रधानको भनाइ थियो । कार्यक्रममा नवनिर्वाचित उद्योगतर्फका उपाध्यक्ष राजु श्रेष्ठले पछिल्लो समयमा संघको दायरा फराकिलो हुँदै गएको भन्दै सबै क्षेत्रको विकासका लागि कार्ययोजनासहित अघि बढ्ने दृढता व्यक्त गरे । उनले नवनिर्वाचित कार्यसमितिले व्यवसायिक हितसँगै विकास निर्माणमा पनि पाइला चाल्ने प्रतिबद्धता जाहेर गरे ।

अर्का उपाध्यक्ष चुननारायण श्रेष्ठले निर्वाचित कार्यसमिति ‘कृषि, पर्यटन, शिक्षा स्वास्थ्य र भौतिक संरचना निर्माणका लागि चितवन जाऔँ’ भन्ने नाराका साथ अघि बढ्ने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि र व्यवसायिक विकासलाई सँगसँगै अघि बढाउने विश्वास व्यक्त गरे । व्यवसायीलाई परिवर्तनशील बनाउन लाग्नुपर्ने भन्दै गुणस्तरीय व्यवसायीको संख्यामा वृद्वि गर्नेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । आगामी वर्ष हुने चितवन महोत्सवको संरचना परिवर्तन गरी अघि बढ्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित कार्यसमिति सदस्य दिनेशकुमार थपलियाले संघले संचारमाध्यमलाई हेर्ने दृष्टिकोण सबै संचारमाध्यमसँग एउटै बनाउने बताए । पत्रकारसमेत रहेका थपलियाले पत्रकारहरुलाई आर्थिक विकासका लागि आर्थिक केन्द्रित समाचार लेखनमा प्रेरणा दिन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रम क्लबका शाखा अध्यक्ष राजु चौधरीको अध्यक्षतामा भएको थियो ।

Free business joomla templates